Katai Bomb, Katai Bamjan
()
About this ebook
कामसूत्रमा वर्णन गरिएका यौनिक क्रियाकलाप होउन् वा मन्दिरका टुँडालतिर देखिने ईश्वरका विभिन्न यौनजन्य आसन र रतिराग, तपस्यारत विश्वामित्रको मेनकासँगको सम्बन्धको सन्दर्भ होस् वा यो संसारमा सृष्टिको अस्तित्व र सम्भावनाको प्रसङ्ग वा यौनको महत्त्व माथिको बहस होस् वा अपाङ्गताका कुरा वा हुन् समय, परिवेश, नेतृत्व, द्वन्द्व र अरू कयौँ प्राकृतिक तथा कृत्रिम हलचलहरू वा हुन् साहित्य, समालोचना, जातीयता र विविध, यी सबै विषयवस्तु माथि लेखिएका रचनाहरूको सँगालो हो यो पुस्तक । यस पुस्तकमा सङ्कलित सबै रचनाहरू नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिक कान्तिपुर, अन्नपूर्ण पोस्ट तथा गोरखापत्रमा छापिएका हुन् ।
TULASI ACHARYA
Tulasi Acharya was born in the South Asian country of Nepal. He completed his Master's degree in English in Tribhuvan University in Kathmandu. He also taught English and Journalism courses at colleges in Nepal, where he authored textbooks on mass communication and journalism. A prolific writer, Acharya published short stories, poems, and articles in Nepali journals, national newspapers and online. He moved to the United States in 2008 to pursue a Master's degree in creative writing. He holds a Ph.D. in Public Administration from Florida Atlantic University, USA. Originally from Nepal, Acharya has a Master's degree in Women's Studies and a degree in Professional Writing. His research interests are disability, policy, gender and sexuality, marginalized narratives, critical theory, and post colonialism, including creative writing and translation.
Read more from Tulasi Acharya
स्वप्नभूमि Rating: 0 out of 5 stars0 ratingsMochan Rating: 0 out of 5 stars0 ratingsमृत्यु डायरी Rating: 0 out of 5 stars0 ratingsशेक्सपियर कथा सङ्ग्रह Rating: 0 out of 5 stars0 ratings
Related to Katai Bomb, Katai Bamjan
Reviews for Katai Bomb, Katai Bamjan
0 ratings0 reviews
Book preview
Katai Bomb, Katai Bamjan - TULASI ACHARYA
कतै बम, कतै बम्जन
A COLLECTION OF ARTICLES on society, culture, politics, human nature, memories, and much more.
By Tulasi Acharya
Publisher: Mantra Publication
कतै बम, कतै बम्जन
(A collection of articles)
© Tulasi Acharya
Publisher
Mantra Publication
Email: tulsirames@yahoo.com
www.tulasiacharya.com
COVER LAYOUT: TULASI Acharya
EDITION: FEBRUARY 2022 (first edition)
ISBN:
Price: 10 USD
ALL MATERIALS CONTAINED within this document may not be reproduced, distributed, transmitted, displayed, published, or broadcast without the prior, express written permission.
1 Contents
2 बुढ्यौलीमा यौनेच्छा र शारीरिक-मानसिक स्वास्थ्य
3 चलायमान भूगोलमा नेपाल
4 पुस्तकको प्रचारः कुन पुस्तकको हैसियत के ?
5 लैंगिक विरोधाभासमा नेपाली भूगोल
6 केन्द्रीय पुस्तकालय र नथामिएका मेरा आँसु
7 जनताहरू भेडा होइनन्
8 बालेन बिम्ब
9 एउटा अर्थपूर्ण साथीको असामयिक अवसान
10 पल उस्तो कि समीक्षा? कि पितृ सत्ता ?
11 दक्ष जनशक्तिलाई स्वदेश भित्र्याऊँ
12 म बाँकी जिन्दगी कसरी बिताउन चाहन्छु?
13 जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
14 अबको बाटो मानवताको राजनीति
15 किन हुन्छ बलात्कार?
16 मेरा आँखा खोलिदिने ’विद्वान्’ मित्र
17 मृत्युमय २०७६ साल
18 मृत्यु: अभिसाप कि आशिर्वाद?
19 जीवन जस्तै मृत्यु
20 नेपाल किन धनी हुन सकेन ?
21 जातीय विभेदमा मानवीय स्वभाव
22 नेपालका प्रकाशक र हामी लेखक
23 देशलाई चाहिएको शिक्षा
24 सभ्य राजनीति, सभ्य समाज
25 मैले देखेको सपना
26 स्वदेशमै सबथोक
27 भूगोलको कैदी
28 समालोचकमा इमानदारी र ज्ञानको अभाव – साहित्यमा त्यसको असर
29 के अपाङ्गता भएका महिलामा यौन चाहाना हुँदैन ?
30 सर्सी अमेरिकामा लट्ठ नेपाली
31 केपी ओलीलाई बौलाहा कुकुरले टोकेको छैन
32 उज्वल थापाको निधन: को हुन् उनी ? के पाठ सिक्ने?
33 कतै बम, कतै बम्जन
34 मलाई कोभिड यसरी लाग्यो र यसरी ठीक भयो
2 बुढ्यौलीमा यौनेच्छा र शारीरिक-मानसिक स्वास्थ्य
कामसूत्रमा वर्णन गरिएका यौनिक क्रियाकलाप होऊन् वा मन्दिरका टुँडालतिर देखिने ईश्वरका विभिन्न यौनजन्य आसन र रतिराग, तपस्यारत विश्वामित्रको मेनकासँगको सम्बन्धको सन्दर्भ होस् वा यो संसारमा सृष्टिको अस्तित्व र सम्भावनाको प्रसंग, यी सबैले यौनको महिमा, यसको तागत र गुणात्मक जीवनसँगको सम्बन्ध र महत्त्वलाई दर्साउँछन् ।
यद्यपि यौनको महिमा र महत्त्व जति छ, त्यति नै योसँग जोडिएर आउने विभेद, अन्धविश्वासी मान्यता र ‘ट्याबु’ पनि छन्; खास गरी जब शारीरिक अशक्तता भएका वा प्रौढ उमेरका व्यक्तिहरूको यौन जीवनको कुरा आउँछ ।
जसरी अपांगता भएका व्यक्तिहरूमा यौन चाहना हुँदैन भन्ने ठानिन्छ, त्यसरी नै वृद्धवृद्धाहरूको यौन रुचिको सन्दर्भलाई हाँसोठट्टाका रूपमा लिइन्छ । जसरी अपांगता भएका व्यक्तिहरूमा शारीरिक अशक्तताको कुरा आउँछ, त्यही शारीरिक अशक्ततालाई वृद्धवृद्धाहरूमा लगेर जोडी उनीहरूमा पनि एक प्रकारको अपांगता देख्छ हाम्रो समाजले । डोन कुलिक र जेन्स रिड्स्टोर्मको ‘लोन्लिनेस एन्ड इट्स अपोजिट,’ रोबर्ट मेक्रुएर र एन्ना मलोको ‘सेक्स एन्ड डिसेबिलिटी,’ टम शेक्सपियरको ‘द सेक्सुअल पोलिटिक्स अफ डिसेबिलिटी’ र माइकल गिलको ‘इन्टेलेक्चुअल डिसेबिलिटी एन्ड सेक्सुअल एजेन्सी’ जस्ता पुस्तकहरूमा अपांगता भएका व्यक्तिमा यौनको महत्त्व, मान्छेको गुणात्मक जीवनसँग यसको सम्बन्ध, तर यौनलाई समाजले हेर्ने साँघुरो दृष्टिकोण र शारीरिक अशक्तता भएका मानिसहरूसँग यौन चाहना हुँदैन भने पूर्वाग्राही तथा संकीर्ण सामाजिक सोचबारे व्याख्या गरिएको छ । तर ती अध्ययनको निष्कर्षका ठीक विपरीत हाम्रो समाजले भने प्रौढ व्यक्तिहरूको यौन जीवनलाई निरुत्साहित गर्छ र उनीहरूलाई पनि अपांगता भएकाकै श्रेणीमा राखिदिन्छ । ‘किनकि उनीहरू सम्बन्धी शारीरिक अशक्तताका कुराहरू अपांगतासँग लगेर जोडिदिन सक्छन्,’ वृद्धवृद्धाबारे धेरै वर्षदेखि सहयोग जुटाउँदै र अनुसन्धान गर्दै आएका ‘एजिङ नेपाल’ का संस्थापक अध्यक्ष चट्याङ मास्टर भन्छन् । शारीरिक अशक्तता भएका व्यक्तिमा यौन चाहना हुँदैन भन्ने मानसिकता भएको हाम्रो समाजमा वृद्धवृद्धाहरूको यौन जीवनलाई कसले महत्त्व दिने ? कसले यौनको महत्त्व र यसको गुणात्मक जीवनसँगको सम्बन्धबारे छलफल र व्याख्या गर्ने अनि यौनलाई अझ राम्ररी बुझ्ने ?
यौनको महत्त्व वयस्कको जीवनमा मात्र होइन, प्रौढको जीवनमा पनि त्यत्तिकै छ । यसको महत्त्वलाई जीवनको स्वास्थ्यसँग जोडेर हेरिनुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, यौनिक रूपमा स्वस्थ हुनु भनेको व्यक्तिविशेष पूर्ण रूपमा शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रूपमा स्वस्थ रहनु हो । यौन चाहनालाई र यौनिकतालाई जब दबाइन्छ, तब जीवनको गुणात्मकता र लयात्मकतामा ह्रास आउँछ । क्लिनिकल मेडिसिन जर्नलमा प्रकाशित ‘फ्याक्टर्स कन्सर्निङ सेक्सुअल बिहेभियर इन ओल्डर एडल्ट्स : अ सिस्टमेटिक रिभ्यु अफ क्वालिटी स्टडिज’ लेखमा भनिएको छ- मानिसको पूर्ण जीवन अनुभवका लागि स्वास्थ्यकर यौनको महत्त्व छ, खास गरी ५० वा ५० वर्षभन्दा माथिको उमेरका मानिसहरूका लागि; यौनिक क्रियाकलाप भनेको प्रौढ जनसंख्याको गुणात्मक जीवनको महत्त्वपूर्ण पाटो हो जुन उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यसँग सम्बन्धित हुन्छ, जसका कारण उनीहरू जीवनमा सन्तोषजनक सम्बन्ध स्थापित गर्न सक्छन् र अरू ‘क्रोनिक’ रोगहरूबाट बच्न सक्छन् । यौन चाहना भए पनि त्यसको परिपूर्ति हुन नसके व्यक्तिविशेष निराशा, विरक्ति, एक्लोपन र विभिन्न रोगबाट ग्रस्त हुने सम्भावना रहन्छ, जसका कारण यौनिक आचरणमा पनि परिवर्तन आउन सक्छ ।
खास गरी प्रौढ उमेरमा पुगेका तथा शारीरिक अशक्तता भएका व्यक्तिहरूका लागि यौनिक इच्छा परिपूर्तिको अभाव धेरै हुन्छ । कारण, उनीहरूले आफ्ना जीवनसाथी प्राय: गुमाइसकेका हुन सक्छन् वा उनीहरूको यौन चाहनालाई समाजले बुझ्न सक्ने ल्याकत राख्दैन वा ‘ट्याबु’ का रूपमा हेरिन्छ । कोही उपयुक्त परामर्शदाता वा यौन स्वास्थ्यलाई नजिकबाट हेरिदिने स्वास्थ्यकर्मीहरू पाउन सक्दैनन्, न त्यो सुविधाका लागि सोचिदिने कोही व्यक्ति नै । कारण त्यही हो- वृद्धवृद्धा तथा शारीरिक अशक्तता भएका व्यक्तिहरूको यौन जीवनप्रतिको हाम्रो समाजको दृष्टिकोण ।
जनगणना–२०७८ अनुसार, नेपालमा ६० वर्षभन्दा माथिकाको जनसंख्या ३० लाखभन्दा बढी छ । तीमध्ये कतिपय आफ्ना जीवनसाथि गुमाउनाले एक्लो जीवन बाँचिरहेका छन् । पुनर्विवाह गर्नेमा पुरुषको संख्या बढी छ, जसको कारण पनि हाम्रो समाजको महिलाप्रतिको दृष्टिकोण नै हो । उनीहरू खुलेर यौन र यौन चाहनाबारे कुरा गर्न सक्दैनन् । ६० वर्षभन्दा माथिका व्यक्तिहरूमाथि हालै गरिएको एउटा सर्वेक्षणमा तीन कुरा देखिए । पहिलो, सामाजिक रीतिरिवाजका कारण प्रौढ व्यक्तिहरू आफ्नो यौनिकता वा यौन चाहनाबारे खुलेर बोल्न सक्दैनन् । दोस्रो, उनीहरूलाई स्वास्थ्य र उमेरले पनि असर गरिरहेको हुन्छ । तेस्रो, यौनिकतालाई धेरै साँघुरो रूपले यौन सम्पर्कसँग मात्रै जोडेर हेर्ने गर्छन् । क्लिनिकल रिसर्च जर्नलमा छापिएको ज्यासन फेरिस र मेरियन पिट्सको ‘सेक्स लाइफ अफ ओल्डर पिपल : सेल्फ रिपोर्टेड सेक्सुअल एक्टिभिटी इन अस्ट्रेलियन सेक्साजेनेरियन’ अनुसार, सक्रिय यौन जीवन व्यक्तिविशेषको सुस्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण छ । उनीहरूले गरेको सर्वेक्षणमा करिब ९० प्रतिशतले यौनको मानवीय स्वास्थ्यसँगको सम्बन्धलाई स्विकारेका थिए । सहभागीहरूलाई यौनबाट पाइने शारीरिक आनन्द र सन्तुष्टि एवं भावनात्मक सन्तुष्टिका आधारमा प्रश्न गरिएको थियो ।
चिकित्सकहरूका अनुसार, प्रौढहरूका लागि यौनको महत्त्व उनीहरूको सुस्वास्थ्यसँग जोडिएको हुन्छ । स्यारोन हिन्च्लिफको लेख ‘द सिक्रेट सेक्स लाइफ अफ ओल्डर पिपल द्याट क्यान मेक अस रिथिंक आवर आइडिया अफ इन्टिमेसी’ मा एउटा सर्वेक्षणको हवाला दिँदै ७० वर्षभन्दा माथिकाले समेत महिनामा तीनचोटिभन्दा बढी यौन सम्पर्क गरेको उल्लेख छ । त्यस लेखमा के पनि उल्लेख छ भने, कतिपयले लजाएर यसबारे प्रस्ट भन्न चाहेनन् भने पार्टनर भएका व्यक्तिहरूको गुणात्मक जीवन पार्टनर नभएका व्यक्तिहरूको भन्दा राम्रो रहेको पाइयो । मार्क स्टिबिच ‘सेक्स इन द सिनियर इयर्स’ मा लेख्छन्, ‘धेरै मानिस उमेर वृद्धिसँगै यौन तथा यौन चाहना कम महत्त्वपूर्ण हुँदै जान्छ भन्ने सोच्छन् । त्यसमा केही सत्यता होला तर सन् २०१७ मा युनिभर्सिटी अफ मिचिगनद्वारा गरिएको एउटा सर्वेक्षण अनुसार ७०–८० वर्ष उमेर समूहका मानिसहरूमध्ये ४० प्रतिशत यौन क्रियाकलापमा सक्रिय भएको पाइन्छ ।’ यसले देखाउँछ, यौनको महत्त्व गुणात्मक जीवनसँग धेरै छ । हो, वृद्ध हुँदै जाँदा लिंग उत्तेजित नहुने, योनी सुक्खा हुनेजस्ता केही समस्या देखिँदै जान्छन्, तर उनीहरूको यौन चाहनालाई नियन्त्रण गर्ने सबैभन्दा ठूलो कारकचाहिँ समाजको नराम्रो दृष्टिकोण, सामाजिक चेत, ‘ट्याबु’ र रीतिरिवाज हुन् । बेलायतमा गरिएको एउटा अध्ययन अनुसार, ७०–८० वर्षका वृद्धवृद्धामध्ये ६० प्रतिशतको सक्रिय यौन जीवन छ भने ८०–९० वर्ष उमेर समूहकामा यो ३३ प्रतिशत छ । सक्रियता पुरुषकै बढी छ, महिलाका तुलनामा ।
हफिङ्टन पोस्टमा प्रकाशित ‘सेक्सुअल एक्टिभिटी अमोङ सिनियर्स : ह्वाइट इज नर्मल ?’ लेख अनुसार, ७ हजार जनाबीच गरिएको सर्वेक्षणमा जम्मा ३ प्रतिशत मात्र आफ्नो यौन जीवनबारे खुल्न चाहेनन्, बाँकीले ८० वर्षको उमेरमा समेत यौन क्रियाकलापमा सक्रिय भएको बताए । इमान हरिरी किया ‘रिपेलर’ पत्रिकाको ‘वी स्लेप्ट विथ हन्ड्रेड्स अफ पिपल : थ्री ओल्डर विमेन अन सेक्स एन्ड प्लेजर’ लेखमा लेख्छिन्, ‘यौन भनेको दुई व्यक्तिबीचको क्रियाकलाप हो जसले सम्बन्धलाई गहिरो र गुणात्मक बनाउँछ ।’ त्यसैले वृद्ध उमेरमा यौनेच्छा हुँदैन भन्नु गलत हो, भ्रम हो । क्लिनिकल मेडिसिन जर्नलमा उल्लेख भए अनुसार, वृद्धवृद्धामा यौन चाहना भई नै रहन्छ र उनीहरू आफ्नो यौन जीवन राम्ररी सदुपयोग गर्न पनि सक्छन् । कहिलेकाहीँ त वयस्क उमेरमा भन्दा पनि प्रौढ उमेरमा यौनेच्छा अझ बढ्न सक्छ, खास गरी तिनीहरूमा जसमा पारिवारिक–सामाजिक दबाब हुँदैन । त्यही भएर सामाजिक सोच र चिन्तन अनि रूढिवादी विश्वास र ट्याबु, धार्मिक पूर्वाग्राही सोच, नैतिकताको प्रश्नजस्ता कुराले मानिसको गुणात्मक पक्षलाई तल पारिरहेको हुन सक्छ । उनीहरूको स्वतन्त्र जीवनलाई बाँधिराखेको हुन सक्छ । जर्नल अफ साइकोसेक्सुअल हेल्थमा छापिएको ‘फ्रिक्वेन्सी अफ सेक्सुअल इन्टरकोर्स अमोङ रेजिडेन्ट्स अफ बंगलादेस, इन्डिया एन्ड नेपाल’ लेखमा पनि शारीरिक सम्बन्धलाई मानवीय सुस्वास्थ्यको महत्त्वपूर्ण अंगका रूपमा लिइएको छ ।
तर हामी यस्ता कुराहरू बुझ्नुको सट्टा प्रौढ व्यक्तिहरूको यौनिक जीवनप्रति प्राय: हेय दृष्टि लगाउने गर्छौं । यदि प्रौढ उमेरमा कसैका श्रीमान् वा श्रीमती बिते र ती सहाराविहीन भए भने उनीहरूलाई दोस्रो विवाह गर्न निरुत्साहित गर्छौं किनकि हाम्रो समाजले उनीहरूको मानसपटलमा एक किसिमको डर र घृणा उब्जाइदिन्छ । अझ कुनै व्यक्तिको शारीरिक क्षमता कमजोर छ, त्यसमा पनि महिला र कथित तल्लो जातको, त्यसमा पनि समलिंगी भए उसको यौनेच्छाको त कल्पनासमेत गर्न सक्दैन हाम्रो समाज ।
अन्तमा, यौनको महत्त्व मान्छेको गुणात्मक जीवनसँग जोडिएर आउँछ । यौन र गुणात्मक मानवीय जीवन अन्तरनिर्भर छन् । हामी भने यसलाई ट्याबुको विषय बनाइरहेका छौं र भनिरहेका छौं- वृद्धवृद्धामा यौन चाहना के होला र ? शारीरिक अशक्ततालाई लिएर हामी व्यक्तिविशेषको मनोवैज्ञानिक र भावनात्मक चाहनामाथि नियन्त्रण गरिरहेका छौं । हामी यस्तो ‘डिस्कोर्स’ बनाइरहेका छौं, जसले शारीरिक अशक्तता भएका मानिसका अरू बहुआयामिक पक्षमाथि कुठाराघात र अतिक्रमण गरिरहेको छ । उनीहरूको गुणात्मक जीवनको अभिवृद्धि गर्ने नाममा साँच्चै सम्बोधन गर्नुपर्ने विषयलाई बिर्सिरहेका छौं । पाश्चात्य विचारक मिसेल फुकु ‘हिस्ट्री अफ सेक्सुआलिटी’ मा लेख्छन्- यस्ता डिस्कोर्सले हामीलाई परिधिबाट बाहिर गएर प्रश्न गर्न निरुत्साहित गरिरहेका हुन्छन् । त्यसलाई चिर्न सक्नु स्वतन्त्र मानिसको दायित्व हो जसले गर्दा मानिस बन्धनबाट बाहिर आउन सक्छ । यौनलाई चिन्नु र चिनाउनु महत्त्वपूर्ण हुन जान्छ । सभ्य समाजमा सकिन्छ भने त झन् शारीरिक अशक्तता भएका तर यौन चाहना परिपूर्ति गर्न नसक्नेहरूलाई त्यो सुविधा जुटाइदिनु अझ बढी कल्याणकारी हुनेछ । बेलायती समाजशास्त्री टम शेक्सपियर खुलेरै लेख्छन्- कुनै यौनकर्मी उपलब्ध गराएर शारीरिक अशक्तता भएका मानिसहरूको यौन चाहना पूरा गरिदिनुपर्छ, न कि यौनलाई अनैतिकताको प्रश्नसँग जोडेर हेर्ने र ट्याबुका रूपमा लिने र वृद्धवृद्धालाई दुर्व्यवहार गर्ने गर्नुपर्छ । (Published in Kantipur dated June 12, 2022/ Jesth 29, 2079)
3 चलायमान भूगोलमा नेपाल
एउटै देश सधैं शक्तिशाली रहिरहन्छ र त्यही देश विश्वको मानक भइरहन्छ भन्ने हुँदैन। समय, परिवेश, नेतृत्व, द्वन्द्व र अरू कयौं प्राकृतिक तथा कृत्रिम हलचलहरूले कुनै पनि देशलाई उल्ट्याइदिन सक्छन्। वर्षौंसम्म शक्तिशाली भएर बाँचेको कुनै देश पनि निमेषभरमै धुलाम्य हुन सक्छ। हिजोका साम्राज्यहरू आज छैनन् र विस्तारै उदाउँदै गरेका छन् हिजो कहीँ कतै गर्भमा लुकेका देशहरू। यो संसारमा कुनै पनि कुरा स्थिर छैन। सब चलायमान छ। कहिल्यै नसोचेको चीन अहिले अमेरिकाको नै अर्थतन्त्रलाई उछिन्न खोज्दैछ। हिजोका साम्राज्यहरू आज ढलेका छन् र हिजोका कमजोर र औपनिवेशीकरण गरिएका राष्ट्रहरू शक्तिशाली भएका छन्। यसले के देखाउँछ भने देश, राष्ट्र वा भूगोलको सीमा, शक्ति, सञ्चय, सामथ्र्य सधंैभरि एउटै नरहन सक्छ। रहने भनेको हामी बाँचेको र जन्मेको भूगोलमा हामीले गर्न सक्ने अर्थपूर्ण र महत्त्वपूर्ण कामहरू मात्रै हुन्। जस्तो हजारौं वर्षअघिका सभ्यताहरू आजसम्म जीवित छन्।
भनिन्छ, करिब ३० करोड वर्ष अगाडि पृथ्वी एउटै डल्लो थियो। त्यहाँ अहिलेको जस्तो सातवटा महादेश थिएनन्, थियो त एउटै महादेश। तपाईंले विश्वको नक्सा हेर्नुभयो र कल्पनातीत हुँदै एकछिन घोत्लिनुभयो भने पनि त्यस्तै लाग्छ कि कुनै जमानामा यो सारा पृथ्वी एउटै जमिनको ठूलो डल्लो थियो सायद र पछि टुक्राटुक्रा भयो। जमिनको भाग छुट्टिएर ठाउँठाउँमा अलग्गियो। कतै ‘आइल्यान्ड’ बन्यो, त कतै फराकिलो भूगोल र विस्तारै सातवटा महादेशमा विभाजित भयो। ‘टेक्टोनिक प्लेट’को सिद्धान्तअनुसार पृथ्वी अहिलेको यो स्वरूपमा रूपान्तरित हुनपुग्यो। उक्तकुरा टिया घोसे र लौरा गेगेलले लेखेको लेख ‘पाञ्जियाः फ्याक्ट्स अबाउट एन एन्सिएन्ट सुपर कनटिनेन्ट’मा समेत उल्लेख गरेका छन्।
यो सम्झिरहँदा यस्तो लाग्छ कि कुनै दिन फेरि ‘टेक्टोनिक प्लेट’को सिद्धान्तअनुसार अर्थात् पृथ्वीमा एउटा हलचल आइदिएर ती जमिनका सबै टुक्राहरू एकै ठाउँ गएर मिल्नेछन्। हेरिरहँदा त्यतिसम्म पर पुग्छ मानवीय कल्पना कि सबै देशहरू एकै ठाउँ जोडिएर फेरि एउटै भूगोल, एउटै महादेश वा एउटै साम्राज्य हुनेछन्। एकोहोरो विश्वको नक्सामा हेरिरहने हो भने यस्तै लाग्छ कि ती भूगोलका टुक्राहरू बच्चाहरूले खेल्ने ‘लेगो’ जस्तै हुन्। कुनै ठूला त कुनै साना जसलाई एकै ठाउँमा मिलाएर फेरि पनि राख्न सकियोस्। उदाहरणका लागि यदि तपाईंले उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकालाई हेर्नुभयो भने यस्तो लाग्छ। तपाईं तिनै महादेशलाई सँगै नजिकै लगेर खाप–खापमा मिलाउन सक्नुहुन्छ। यसले हामीलाई ३० करोड वर्ष अगाडिको पृथ्वीको आकारको याद दिलाउँछ। झन्डै विश्वस्त बनाउँछ कि पृथ्वी एक जमानामा साँच्चै एउटा सिंगो महादेश थियो। नटुक्रिएको, नफुटेको एउटा भूगोल थियो र पछि विस्तारै, भौगोलिक विचलन, ‘प्लेट टेक्टोनिक’ आदिका कारणले छुट्टिँदै र टुक्रिँदै गयो। महासागर र समुद्रहरूले तिनीहरूलाई तन्काउँदै र टुक्र्याउँदै लगे। कुनैलाई कता सार्यो, कुनैलाई कता पार्यो।
कुनैलाई एउटा ‘आइल्यान्ड’को रूपमा मात्रै अस्तित्व खडा गर्दियो। कुनैलाई टापुमा सीमित राख्यो। यदि त्यसो हो भने हामी त्यो अनुमानको हदसम्म पुग्न सक्छौं। भन्न सक्छौं कि के थाहा भोलि फेरि यी जमिनका सबै टुक्राहरू एकै ठाउँ जोडिनेछन्। त्यहाँ एउटै मात्र महादेश हुनेछ वा आज शक्तिशाली भनिएका देशहरू कतै कुनै समुद्रकै गर्भमा बिलाउनेछन् वा नयाँ देशहरूको उदय हुनेछ। पिटर स्नोको पुस्तक ‘अ हिस्ट्री अफ वल्र्ड म्याप बाई म्याप’ मा इतिहासको क्रम र भौगालिक इतिहास हेर्दा कोही कसैको कल्पना यति परसम्म तन्किन्छ। लाग्छ, कहिलेकाहीँ जमिनको हलचलले समुद्र र भूगोलको सिमानालाई हल्लाइदिन सक्छ। भूपरिवेष्टित देश नेपालको वरिपरि बन्दरगाहै बन्दरगाह हुन सक्छ भने भारत र चीन भूपरिवेष्टित राष्ट्र पनि हुन सक्छन्। यदि त्यस्तो हुन पनि सक्छ भने त देशको भौतिक सिमाना त केही होइन रहेछ।
कहिलेकाहीँ त सभ्यतासमेत बिलाएर जान सक्छ। उदाहरणका लागि भारतको ‘इन्दस भ्याल्ली’ सभ्यतालाई नै लिउँ। जुन सभ्यता पछि ‘कोल्याप्स’ भएर गयो। त्यसको पछाडि एउटै कारण थियो, ‘टेक्टोनिक सिफ्ट’को असर। इतिहासले त्यही भन्छ। लाग्छ, यदि यस्ता हलचल भइराख्ने हो भने कुनै पनि देशले आफ्नो भूगोलको फैलावटको घमण्ड नगरे पनि हुने रहेछ। भूगोललाई यस्ता प्राकृतिक उथलपुथल जस्तो भुइँचालो, भोल्क्यानो, नदी र समुद्रले थाहै नपाई प्रभाव पार्न सक्ने रहेछ। मानवको उत्पत्तिसँगै भूगोलको ‘एक्सप्लोर’ भएको हामीले पढेकै हौं। एक जमानामा कुनै पनि देश भूगोल कोही कसैका लागि पेवा थिएन। मेरो देश र तेरो देश भन्ने सिमाना थिएन। मान्छेले जब अतिक्रमण गर्न थाल्यो भूगोलमाथि र यो मेरो हो भन्न थाल्यो अनि शक्ति र घमण्डको उन्माद चढ्न थाल्यो उसमा। अनि रिस र ईष्र्या जन्मिन थाल्यो। त्योसँगै सभ्यताको विकास त भयो तर मानिस केही हदसम्म असभ्य र क्रूर पनि हुन थाल्यो।
हिजोको दिनमा भूगोल सबैको थियो। मनलागी जो जहाँ पनि जान सक्थ्यो। खैर समय लाग्थ्यो। स्रोत र साधन थिएन सहजताको। तर त्यो नभए पनि ढिलो चाँडो भौतिकरूपमा आफूलाई त्यहाँ पुर्याउन सकिरहेकै थिए मानिसले। अहिले प्रविधिको युगसँगै हरेक कुराको सहजता छ। ‘ग्लोबलाइजेसन’ ले संसारलाई नजिक बनाएको छ। प्रविधिको माध्यमबाट भौतिकरूपले त्यहाँ नपुगिकनै मानिस त्यो ठाउँमा पुग्न सक्छ। तर आजभोलि भने देशका सिमानाहरू हाम्रो भौतिक शरीरको उपस्थितिका लागि त्यतिकै बाधक पनि भएका छन्। ‘सानो’ र ‘ठूलो’